खानेपानी अभावले बस्ती रित्तिने जोखिम

बाग्लुङ | मंसिर २१, २०८१

खानेपानी अभावले बस्ती रित्तिने जोखिम तस्बिर फाइल

बागलुङ:    काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका हजारौँ नागरिक समस्यामा परेका हुन् । बर्खाको समयमा गाउँका धारामा पानी आए पनि हिउँद लागेपछि एक गाग्री पानीका लागि घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता छ ।


राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने माथिल्लो बिहुँ क्षेत्रमा खानेपानी समस्याका कारण बसाइँसराइ गरेर जानेको सङ्ख्या बढ्दै गएको स्थानीय चुडामणि कँडेलले बताउनुभयो । 


गाउँमा एउटा धाराबाट १० घरपरिवारले पानी भर्नुपर्ने बाध्यता छ । नजिकमा पानीको मुहान नहुँदा तरकारीखेती गर्न र वस्तुभाउलाई खुवाउन पनि समस्या भएको कँडेल बताउनुहुन्छ ।


उहाँले भन्नुभयो, “हिउँदयाम सुरू भएलगत्तै खानेपानीकै चिन्ता हुन्छ, गाउँमा पहिले सयौँ घर थिए, अहिले खानेपानीकै अभावका कारण घटेर निकै कम भएको छ, अझै पनि समस्या समाधान भएन भने गाउँ रित्तिने जोखिम बढेको छ, हाम्रो बस्तीमा वर्षा नहुँदासम्म खानेपानीको निकै समस्या हुन्छ, राष्ट्रिय सडकको छेउमा रहेका बस्तीमा खानेपानीको सङ्कट छ, राज्यले ध्यान दिन सकेन ।”


स्थानीय माधवी शर्माले बर्खाको समयमा मुहान पलाउने हुँदा धारामा पर्याप्त पानी आए पनि कात्तिकदेखि साउनसम्म नौ महिना धेरै समस्या भोग्नुपरेको बताउनुभयो । पानीका लागि घण्टौँ समय लाइन बस्नु पर्दा बालबालिकालाई विद्यालय पठाउन ढिला हुने उहाँको भनाइ छ । 


गाउँमा खानेपानी आयोजना सुरू भए पनि वर्षौँदेखि अहिलेसम्म सम्पन्न हुन नसकेको शर्मा बताउनुहुन्छ ।काठेखोला गाउँपालिका–५ का अध्यक्ष ज्ञामनाथ कँडेलले यहाँका करिब ७० घरपरिवारका नागरिकले खानेपानी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्नतर्फ आफूहरू लागिरहेको बताउनुभयो । 


यस क्षेत्रमा स्वच्छ खानेपानी ल्याउन केन्द्र सरकारको लगानीमा आयोजना सुरू भए पनि बजेट अभावमा काम सम्पन्न हुन नसकेको उहाँको भनाइ छ ।


“खानेपानी समस्या समाधानका लागि यहाँ लिफ्टिङ आयोजना सुरू भएको छ, यस वर्ष पनि रू ३० लाख बजेट विनियोजन भएर आएको छ, यस बजेटले पनि आयोजना सम्पन्न हुने अवस्था छैन”, उहाँले भन्नुभयो, “आयोजनाको लागत ठूलो भयो, बजेट थोरै हुँदा समस्या भएको छ, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर छिटो सक्ने प्रयास गरिरहेका छौँ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्